झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेकोपोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।

बसपार्क निरीक्षणका क्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापा र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो ।यस कार्यका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए ।

झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।