बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी थाल्ने भएको हो । अर्थ मन्त्रालयले पठाएको एक अर्ब र थप ८१ करोड रुपैयाँ गरी कुल एक अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्ने तयारी थालेको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले मेरोलगानीलाई जनकारी गराए ।

‘अर्थमन्त्रालयबाट एक अर्ब रुपैयाँ आएको छ । त्यसमा बीमा समिति, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीले थप ८१ करोड रुपैयाँ गरी १ अर्ब ८१ करोड रुपैयाँ वितरण गर्न लागिएको हो,’ उनले भने, ‘त्यसको लागि अर्थमन्त्रालयको अनुमतिको पर्खाइमा छौं ।’

दाबी भुक्तानी बाँकी रहेको रकम मध्ये ५५ प्रतिशत सरकारले व्योहोर्ने र ४५ प्रतिशत बीमा कम्पनी, नेपाल पुनर्बीमा र बीमा समितिले भुक्तानी गर्ने मोडालिटी बनेको छ । त्यस अनुसार सरकारले पठाएको १ अर्ब रुपैयाँको ४५ प्रतिशत अर्थात ८१ करोड रुपैयाँ भुक्तानीको लागि थप्न लागेको हो ।

भुक्तानी गर्न लागिएको एक अर्ब ८१ करोड रुपैयाँ एक लाख दरका भुक्तानी गर्दा १८ हजार १०० जना बीमितले मात्रै पाउने देखिन्छ । भुक्तानी गर्नुपर्ने रकम थोरै भएकोले बीमा समितिले पीसीआर परीक्षण मितिको आधारमा भुक्तानी दिने तयारी भइरहेको समितिका कार्यकारी निर्देशक पौडेलको भनाई छ ।