रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ९५ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (जेठ २१ गते) सम्म ८ लाख ६९ हजार ६४५ जनाले ९५ लाख ८६ हजार ४०० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.८९ गुणा बढी आवेदन हो । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% अर्थात् ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको हो । यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई  केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।