पाेखरा देशका विभिन्न ठाउँहरूमा आँखा पाक्ने संक्रमण फैलिँदै गएको छ । विशेष गरि हाल दार्चुलामा नेपाल नेत्रज्योति संघको दार्चुला आँखा उपचार केन्द्रमा अहिले दैनिक रूपमा बिरामीहरू यो समस्या लिएर उपचारका लागि आउन थालेको आँखा उपचार केन्द्र दार्चुलाका नेत्र सहायक करनसिंह डाँगाले बताए ।
केहि दिनयता जिल्लामा आँखामा लाग्ने कन्जक्टिभाइटिस नामक भाइरल रोगको संक्रमण फैलिएको डाँगाले बताए । रोगको संक्रमण फैलिएपछि आँखा उपचार केन्द्र तथा मेडिकल क्लिनिकहरूमा आँखाका बिरामीहरूको भीड बढेको छ । ‘एक सातादेखि आँखा पाक्ने बिरामी देखिन थालेका छन्,’ डाँगाले भने, ‘दैनिक ६० देखि ७० जना आँखाको समस्या लिएर आँछन् ।’
सीमावर्ती भेगमा आँखा पाक्ने संक्रमण फैलिरहेको छ । जिल्ला सदरमुकामको खलंगा बजार भारतीय बजारसित सीमा जोडिएको हुनाले दिनहुँ सयौंको संख्यामा नेपाल–भारत आवतजावत हुने हॅुँदा संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । सबै उमेर समूहका मानिसहरूमा आँखामा संक्रमण रहेको चिकित्सकहरू बताउँछन् ।