पाेखरा – छ महिनाअघि न्युजिल्यान्ड जान ठिक्क परेकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै छिन् ।
कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि एक महिना वरिष्ता तालिम लिएर सीपयुक्त बनेकी नेपालीको दैनिकी पारखीहरुलाई कफी तयार गर्दै बित्छ । आफूले नसोचेको व्यावसायिक यात्रा अघि बढेपछि उनी दङ्ग छिन् ।
व्यवस्थापनमा स्नातक तेस्रो वर्ष अध्ययरत नेपालीले बन्दाबन्दीको समयमा पोखराको सभागृहस्थित म्याप इन्टरनेसनलमा सिकेको सीपले यो व्यवसायको ढोका खोलिदिएको हो ।


यही तालिम आफूलाई वरदान साबित भएको बताउने नेपाली भन्छिन्, ‘व्यवसाय गर्छु भन्ने सोचेको थिइनँ, अझ यो समयमा त झन् के सम्भव देख्नु र ? तालिमपछि मेरो सोच बदलियो, आत्मबल बढ्यो र व्यवसाय थालेँ । विदेश जाने योजना रोकिएपछि तालिम सिकेँ र एक दिन भाइ सबिनसँग व्यवसाय गर्ने सोच सुनाएँ । भाइ सकारात्मक भयो र हामीले ममीसँग कुरा गर्यौँ । उनको पनि साथ पाएपछि त ऊर्जा मिल्यो ।’
पोखरा महानगरपालिका–५ मा विन्स क्याफे एन्ड फास्ट फुड सञ्चालनमा ल्याएकी नेपालीले सानो ठाउँ भए पनि मासिक रु १८ हजार भाडा तिरेर रु २० लाखको लगानीमा व्यवसाय सञ्चालन गरेको बताइन् । ‘एक महिनामात्र भयो, दुईजना स्टाफ छन्, दैनिक रु ६ हजारदेखि १५ हजारसम्म व्यापार भएको छ । अहिले उनि विदेश जानुभन्दा सीप सिकेर स्वदेशमै केही गर्न सबैलाई सुझाउँछिन् ।
Source: Jamuna barsha sharma/capitalnepal.com/news